काठमाडौं । जलवायु परिवर्तन र सिमसार क्षेत्र भन्ने नाराका साथ नेपालमा पनि विश्व सिमसार दिवस मनाइएको छ । जलवायु परिवर्तनको असरले पानीको मुहान सुक्दै जाने तथा हिमालको हिउँ पग्लेर काला पहाडको रुपमा चित्रित गर्न थालिएको बेला जलवायु परितवर्तनलाई सिमसारको संरक्षण र व्यवस्थापनसँग जोडेर यो दिवस मनाउन लागिएको हो ।

नेपालका सिमसार क्षेत्रहरू जलवायु परिवर्तनको जोखिममा छन् । कोशी टप्पुदेखि रारातालसम्म विश्व रामसार सूचीमा नौ वटा सिमसार क्षेत्रहरु सूचीकृत भइसकेका छन् । सूचीकृत भएका सिमसारहरू संरक्षित र वन क्षेत्रभित्र हुँदा खासै अतिक्रमणको चपेटमा नपरे पनि सार्वजनिक क्षेत्रमा रहेका सिमसार एकातिर अतिक्रमण र अर्काेतिर जलवायु परिवर्तनको जोखिममा परिरहेकाले अब तीनै तहका सरकारले साझा एजेन्डा बनाएर संरक्षण गर्नु पर्ने विज्ञहरुको भनाई छ ।

नेपाल अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार क्षेत्रलाई संरक्षण गर्न इराकको रामसार सहरमा भएको रामसार महासन्धिको पक्षर राष्ट्र हो । त्यो महासन्धि सन् १९७१ मा भएको हो भने सन् १९९७ देखि हरेक वर्ष पक्ष राष्ट्रहरुले सिमसार दिवस मनाउन थालेका हुन् । जीवित चराचरसँग अन्यौन्याश्रित सम्बन्ध भएको पानीको सञ्चय हुने ताल तलैया, पोखरी क्षेत्रलाई सिमसार क्षेत्र भनिन्छ । यी सिमसार क्षेत्रलाई पृथ्वीको मिर्गाैला पनि भन्ने गरिन्छ । पानीको सञ्चय गर्दै जमिनभित्र पठाउने र पानीमा बग्ने फोहोरलाई थुपार्ने काम गर्ने भएकाले सिमसार क्षेत्रलाई मिर्गाैला भन्ने गरिएको हो । थुप्रिएको फोहोरलाई मानिसले सहजै व्यवस्थापन गर्न सक्ने भएकाले वातावरणीय प्रदुषण नियन्त्रणका लागि पनि यसको महत्व रहेको मानिन्छ ।

सिमसार र जलवायुको विषयलाई लिएर हामीले संरक्षणविद, डा.उकेश भुजुसँग संक्षिप्त कुरा गरेका छौँ ।

० डाक्टसाब, सिमसारको संरक्षण किन जरुरी छ ?
–सिमसार भनेको नि, जमिन र पानीको समायोजन अथवा संयोजन प्रकृतिले गरिदिएको हो । हामी के भन्छौँ भने, माटो र पानी भनेको जीवनको मूल आधार हो । जीवन सृष्टी पनि त्यसैमा हो । र, यसैमा हाम्रो जीवनपनि चल्छ । यसैमा हाम्रो सम्पूर्ण प्रक्रिया चल्ने भएको हुनाले । यो दुवै नभई जीवन चल्दैन । त्यसैले सिमसार भनेपछि जीवनको प्रतिकको रुपमा हामीले लिन्छौँ ।

० अहिले जलवायु परिवर्तनको मुद्दा जसरी उठेको छ, जलवायु परिवर्तनको मुद्दा सिमसारसँग कहाँनेर जोडिन्छ ?
–सिमसार र जलवायुमा प्रत्यक्ष सम्बन्ध रहन्छ । किन भने अलिकति मात्रै पनि वायुमण्डलमा तापक्रम बढ्यो भने सिमसारको पानी हावामा उडेर जाने हो । त्यो अन्यत्र गएर वर्षा हुने हो । र, सिमसारमा पानी सुक्न सक्छ । वा, अन्यत्र वर्षा भएपछि सिमसारमा पानी बढीरहन सक्छ । त्यसैले वर्षासँग, बाढीसँग सम्बन्धित भएको हुनाले यो, सिमसार र जलवायुको एकदम प्रत्यक्ष सम्बन्ध रहन्छ । र, जलवायुकोबारेमा अध्ययन गर्न पनि पानी र हावासँगको सिमसार सम्बन्ध केलाउनै पर्छ । सम्बन्ध प्रत्यक्ष नै हुन्छ ।

० नेपालमा जतिपनि सूचीकृत सिमसार क्षेत्र छन् । ती क्षेत्रमा विदेशी चराको आगमन घट्यो भन्ने खालका खबर पनि बाहिर आइरहेका छन् । यसकारण हाम्रो सिमसार अब अतिक्रमण भयो अथवा प्रदूषणमा पर्यो भनेर बुझ्ने हो कि, त्यसका अरु कुनै कारण छन् ?
–सिमसार भन्नेवित्तिकै जलचर र जलमा बस्ने हामी पटेरा भन्छौँ तराईतिर । पानीमा बस्ने पानी हाँसहरु र पानीमा बस्ने चराहरुको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने भयो । र, तपाईले भन्नुभएको जस्तै हावा पानीमा अलिकति परिवर्तन आउने वित्तिकै उनीहरुमा अन्योल हुनसक्छ । जाडो सकियो भनेपनि उनीहरु फर्केर जानसक्ने भए । गर्मी चाँडै सकियो भने पनि चाँडै हामीकहाँ आउन सक्ने भए । जस्तै, कर्याङ्कुरुङ दशैँताका नेपालतिर झर्ने, चैतमा चाहिँ हाम्रो शिवरात्रीको बेलामा फेरि हिमालपारी जाने, त्यो प्रक्रियामा फरक आउन सक्छ । किन भने, जलवायु परिवर्तन हुनेवित्तिकै हावा पानी वर्षा र वादल यी सबैले उनीहरुको आउने जाने क्रममा फरक पर्न सक्छ । यसले गर्दा हुनसक्छ । तर, यसमा अध्ययन गरेर यकिन रुपमा घटेको हो, वा बढेको हो भनेर यकिन नगरिकन अनुमान लगाउन अकिल अफ्ठेरै हुन्छ होला ।