काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।

भट्टराईले शुक्रबार स्थानीय तहको निर्वाचनमा मतदान गर्दा मतसंकेत गरेको मतपत्र नै सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।

‘जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गर्नुभएको विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आयोगले विज्ञप्तिमा स्वष्ट जवाफ चौबिस घण्टाभित्र पेश गर्न भनेको छ। आयोगले विज्ञप्तिमा, ‘निर्वाचन (कसूर तथा सजाय)ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरेको’–भनेको छ।

भट्टराईले बिहानमा गृह जिल्ला गोर्खामा मतदान गरेपछि मतसंकेत गरेको मतपत्रको फोटो सामाजिक सञ्जालमा राखेका थिए। फोटो उनी आफैले नखिची अरु कसैले खिचेको भनिएको छ ।