काठमाडौं । गरिबी निवारणको अवधारणाबाट स्थापित सहकारीहरु गलत बाटो पक्डिएको भन्दै नियामक निकायले चिन्ता जाहेर गरेको छ ।

सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरु अनुत्पादक क्षेत्रमा लगानी गर्ने, व्याज बढी लिने र सेवा शुल्क बढी लिने जस्ता गलत अभ्यासमा लागेकोप्रति चिन्ता जाहेर गरेका हुन् ।

काठमाडौंमा सुरु भएको चौथो साकोस शिखर गोष्ठीको उदघाटन सत्रमा उनले सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गरेको, बढी व्याज लिने र सेवा शुल्क बढी लिएकोलगायत गुनासो व्यापक आएकाले त्यसो नगर्न आग्रह गरे ।

आफुलाई बैंक नठान्न र बैंकको जस्तो अभ्यासले सहकारीको भलो नहुने उनले सुझाव दिए । उनले भने, ‘एउटा सहकारीको कारण सबै सहकारी बदनाम हुनुपर्ने अवस्था नआओस् ।’ हालै सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न समेत आग्रह गरे ।

उनले सहकारी अभियान र सरकारले समन्वय गरेर अघि बढ्नुपर्ने पनि धारणा राखे । सहकारीका नीति, योजना कार्यक्रम बनाउन तथ्यांक आवश्यक हुने बताउँदै उनले सम्पूर्ण सहकारी कोपोमिसमा आवद्ध हुन आग्रह गरे । ३० हजार सहकारी संस्था मध्ये २६ प्रतिशत मात्रैले विवरण बुझाएकाले समयमा अद्यावधिक गर्ने सन्दर्भमा पनि उनले सतर्क गराए ।

गृहमन्त्री बालकृष्ण खाणले बचतबाट स्रोत र साधनलाई उर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको उनले बताए ।

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोभिड महामारीले सृजना गरेका वित्तीय सक्षमता, स्थिरता र स्वस्थताका विषयको यथोचित सम्बोधन गर्ने जिकिर गरे ।