काठमाडौं । ‘आगामी मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन नगरी हुँदैन । जसरी पनि गर्नु पर्छ । गरिएन भने बर्बाद हुन्छ’ प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भनेका वाक्य हुन यि ।

मंसिरमा चुनाव नहुने हो भने प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल पूर्ण हुन्छ । मुलुकमा संवैधानिक संकट आउन सक्छ, त्यसकारण चुनाव नगरी हुँदैन । आयोगले आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु अघि बढाइरहेको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले अगाडि भने, ‘हामीले मतदाता नामावली दर्ताका लागि मातहतका निर्वाचन कार्यालयहरुलाई चिठी पठाइसकेका छौँ । विधिवत रुपमा हामी हाम्रो काममा लागेका छौँ । उनका अनुसार बुधबारदेखि औपचारिक रुपमा आयोगले मतदाता नामावली दर्ताको काम गर्ने छ ।

मंसिरमा चुनाव गर्नलाई निर्वाचन आयोगलाई तयारीका लागि समय पुग्छ ? जवाफमा थपलियाले हाँस्दै भने, ‘पुग्छ, उफ्रि, उफ्रि पुग्छ ।’ सरकारले आफुहरुसँग निर्वाचनका सन्दर्भमा छलफल भने अहिलेसम्म गरिनसकेको उनले एभरेष्ट हेडलाइनलाई बताए । उनले भने, ‘छलफलका लागि अझै समय छ । त्यही भएर हामीलाई अहिलेसम्म डाकिएको छैन । सरकारले पनि तयारी गर्दै होला ।’

राजनीतिक दलले चुनावी माहोलका लागि औपचारिक छलफल थालेका छैनन् । यद्यपि, दलका नेताहरुले चुनावबारे भाषण गर्न थालिसकेका छन् । सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने भनेर भाषण गरेका छन् ।

बर्दिया पुगेर उनले सरकारमा रहेका दल र प्रमुख प्रतिपक्ष एमालेसँग पनि मंसिरमा चुनाव गर्नेबारे समझदारी भइसकेको सुनाए । कार्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता गर्ने भन्नेबारे छलफल हुँदा मंसिरमा गर्ने भनेर दलीय समझदारी भएको उनले बताए । केही दिन पहिले सत्तारुढ गठबन्धनले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनबारे छलफल गरेका थिए । छलफल जारी राखिने समेत उनीहरुले बताएका छन् ।