‘हामी एउटा माध्यम मात्रै हौँ’ अर्थात् हुलाकी मात्रै भन्ने मूल ध्येय राखेर सुरु गरिएको पोष्ट दैनिक डटकम (postdainik.com)ले स्थापनाको एक वर्ष पूरा गरी दोस्रो वर्षको यात्रारम्भ गरेको छ । गएको वर्ष ऐतिहासिक फागुन ७ अर्थात् प्रजातन्त्र दिवसका दिन यो अनलाईन न्यूज पोर्टलको विधिवत सुरुवात भएको हो । यही दिनलाई स्थापना दिवस मानेका छाैँ, हामीले । एक वर्षको अवधिमा थुप्रै चुनौतीका बाबजुद यस अनलाईन न्यूज पोर्टलले आफ्नो छुट्टै पहिचान बनाएको छ । विषय वस्तु उठानका सन्दर्भमा पछिल्लो चरण अनलाइन सञ्चारमाध्यममा देखिएको ‘सेन्सलेस’काे ट्यागबाट पोष्ट दैनिक डटकम भिन्न रहयो । र, समाजलाई डिमोटिभेट गर्ने सामाग्रीलाई एउटा विधामा पनि प्रोत्साहन गरेन ।

आर्थिक लाभका दृष्टिले संकटबाट गुज्रिए पनि सामाजिक उत्तरदायित्व बहनका हिसाबले पोष्ट दैनिक डटकमले ठूलो सफलता हासिल गरेको छ । यो न्यूज पोर्टलको शैली र प्रयोगलाई आम पाठकले असाध्यै रुचाएका छन् । आम सञ्चारमाध्यममा कार्यरत थुप्रै पत्रकारले यो शैली जीवन्त राख्नुपर्ने अमूल्य सुझाव दिएका छन् । निम्न शैक्षिकस्तर र भाषिक जटिलता रहेको नेपाली समाजमा क्रान्ति ल्याएको ‘झर्रोवाद’लाई जोगाउन र बोलीचालीका शब्दावलीलाई जीवन्तता दिन पोष्ट दैनिकले गरेको प्रयोग असाध्यै रुचाइएको छ ।

विषयवस्तु पठनीय भएका प्रतिक्रिया यो एक वर्षका दौरान निरन्तर प्राप्त भइरहे । र, आम पाठक तथा सुभचिन्तकले दिएका सुझावले आगामी दिन विषय वस्तु उठान र प्रयोगलाई अझ बढी प्रभावकारी बनाउने बल प्रदान भएको छ । यस्तै प्रकारले  निरन्तर सहयोगकाे अपेक्षा गर्दैछौँ । स्थापनाका दिनदेखि अहिलेसम्म निरन्तर सल्लाह, सुझाव एवं सहयोग गर्ने आम पाठक, शुभचिन्तक एवं विज्ञापनदाताप्रति पोष्ट दैनिक डटकमको मातृ संस्था एवं प्रकाशक पोष्ट पब्लिकेशन प्रालि हार्दिक आभार प्रकट गर्दछ ।

र, हामीलाई फेसबुकमा @postdainik तथा ट्वीटरमा @postdainiknews मा पछ्याउन सकिनेछ ।