काठमाडौँ । काठमाडौं जिल्ला अदालतमा नयायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट भएको छ ।

सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला कुटाकुटमा उत्रिएका हुन् ।

श्रेस्तेदार भीमप्रसाद निरौलाका अनुसार इजलास अधिकृत शर्मा घाइते भएका छन् । उनको नाकबाट रगत बगेपछि ट्रमा सेन्टरमा जँचाउन गएका थिए । अहिले उनको अवस्था सामान्य रहेको निरौलाले बताए ।

मालपोत कार्यालयलाई भएको एउटा आदेशमा सही गर्ने कुरालाई लिएर विवाद भएको थियो ।

‘आदेशमा सही गराउन लिएर जादाँ इजलास अधिकृत शर्माले व्यहोरा नमिलेको भन्दै अर्को व्यहोरा लेखेर ल्याउन भनेपछि वादविवाद भएको रहेछ । त्यही बढ्दै गएर हात हालाहाल नै भएछ’, उनले भने ।

कार्यालयका नाममा आदेश गर्ने कि कार्यालय प्रमुखको नाममा आदेश गर्ने भन्नेमा उनीहरूको मत बाझिएको थियो ।

आज न्यायाधीशसँग यो विषयमा कुरा हुने, छानबिन गर्ने र दोषी पत्ता लगाएर कारबाही गरिने पनि श्रेस्तेदार निरौलाले बताए । सोमबार भएको कुटाकुटले केहीबेर इजलास प्रभावित भएको थियो ।