काठमाडौँ । सुन्धारास्थित शालिमार हस्पिटालिटीको गुलाब ब्रान्ड र त्रिपुरेश्वरस्थित बागमती स्विट्समा भेटिएको बिनालेबल र बिग्रिएका अखाद्य वस्तु नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौँ महानगरपालिका तथा उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त टोलीले शुक्रबार ती पसलको अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु नष्ट गरेको हो ।

खाद्य प्रविधि विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले अनुगमनका क्रममा भेटिएका सडेगलेका मिठाई बनाउने सामग्री नष्ट गरिएको जानकारी दिए । शालिमार हस्पिटालिटीअन्तर्गतको गुलाब ब्रान्डको उद्योगले मिठाई बनाउन प्रयोग गरेको कीरा लागेको २६ केजी बेसनको पिठो र १० केजी म्याद सकिएको बेसन जफत गरेर नष्ट गरेको हो ।

यस्तै मिठाई बनाउने स्थान निकै फोहोर राखिएको भन्दै अनुगमन टोलीले गुलाब मिठाई पसलको उद्योगको मुचुल्का उठाएर थप कारबाहीका लागि विभागमा बुझाउने तयारी गरेको अनुसन्धान अधिकृत सुवेदीले जानकारी दिए ।

दशैँको मुखैमा कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी सम्मिलित अनुगमनमा पनि गुलाबको मिठाईमा अत्यधिक हानिकारक रङ प्रयोग गरिएको पाइएको थियो । अनुगमनका क्रममा त्रिपुरेश्वरको बागमती स्विट्सबाट १० केजी सडेको मिठाई अनुगमन टोलीले जफत गरेको छ भने एक÷एक केजीका बिनालेबलका १० केजी आलुचिप्स पनि नष्ट गरेको छ ।

अनुगमनमा गएका उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बागमती ब्रान्डले चर्चित बागमती स्विट्सको भान्सा फोहोर, भुसुना, झिँगा, साङ्ला र त्यहाँ काम गर्ने कर्मचारीले सामान्य सरसफाइमा पनि ध्यान नदिएको पाइएको बताए । उनका अनुसार भुसुना भरिएको चमचम नामको मिठाई जफतपछि नष्ट गरिएको थियो ।

ती पसललाई खाद्य ऐन २०२३ अनुसार मुद्दा चलाउने गरी मुचुल्का उठाइएको पनि उनले जानकारी दिए । कानुनअनुसार ती पसललाई एक वर्ष कैदसजाय र १० हजार जरिवाना गर्न सकिने व्यवस्था छ ।